ढोल बजिसकेको छ आज बिहानै । मन्दिरबाट कलशयात्रा निकालिएको छ । आज सोमबार अर्थात् घटस्थापना । आजबाट सुरु भएको छ हिन्दूहरूको महान चाड दशैँ । १५ दिनसम्म मनाइने यस पर्वको मुख्य दिन भनेको दशमी नै हो । दशमीका दिन मान्यजनको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गर्ने चलन रहेको छ । घटस्थापनामा घरघरमा घटको स्थापना गरिन्छ । बिहान पूजा गरी स्थापना गरिएको घटमा जमरा उमार्न मकै, जौ, गहुँ लगायतका अन्नको बीउ राख्ने गरिन्छ। यही जमरा दशमीका दिन मान्यजनको हातबाट टीकासँगै ग्रहण गरिन्छ । चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीलाई टीका र जमरासँगै दक्षिणा दिने पनि चलन छ । दक्षिणा दिँदा सकभर नयाँ नोट दिने गरिन्छ। त्यसैले त नयाँ नोट साट्न बैँकहरूमा लाइन लाग्न थालेको छ । दशैँमा नयाँ लुगा लगाउने चलन छ । त्यसैले त बजारमा भिड लागेको छ । दशैँ मनाउन मीठो मसिनो खाने पुरातन मान्यता अझै हराएको छैन । नहुनेले ऋण काढेर पनि दशैँमा मुख मीठो पर पार्छन्।
दशैँमा सुरुका नौ दिन भगवतीको पूजा अर्चना गरिन्छ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ ।हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै दशैँका सबै दिन काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
दशैँ हर्ष र उल्लाससहित मनाउने काम गरौँ । ऋण काढेर दशैँ मनाउन उपयुक्त हुँदैन । आफ्नो गच्छे अनुसारको काम गरियो भने दुःख पाइँदैन । ढोल बजाएर आएको दशैँ ले ऋण नबोकाओस्। दशैंको शुभकामना।
सम्पादकीय : आयो दशैँ ढोल बजाई
सम्पादकीय : आयो दशैँ ढोल बजाई
तपाईको प्रतिक्रिया




