चितवन, १४ असोज ।
पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सी चलिरहेको छ । प्रतिनिधिसभा सदस्यतर्फ बाँडफाँटमा कुरा करिबकरिब मिलिसकेको र अब प्रदेशसभा सदस्यको बाँडफाँट चलिरहेको छ ।
केन्द्रीय सहमति अनुसार चितवनमा प्रतिनिधिसभा सदस्यका तीन क्षेत्रमध्ये एक र दुई नेपाली काँग्रेस तथा तीन नम्बर क्षेत्र नेकपा माओवादी केन्द्रले पाउने भएका छन् । क्षेत्र नम्बर तीनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने निश्चितजस्तै छ ।
नेपाली काँग्रेसनिकट एक स्रोतका अनुसार चितवनमा प्रचण्डको क्षेत्र भनेर समेत चिनिने क्षेत्र नम्बर तीनका दुई प्रदेशसभा सदस्यमध्ये क्षेत्र नम्बर ३ (क) मा नेपाली काँग्रेसका प्राडा सूर्यकान्त घिमिरेले टिकट पाउने सम्भावना बलियो देखिएको छ । क्षेत्र नम्बर ३ (ख) मा भने माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैले दाबी गरिरहेको कारण टुंगो लाग्न नसकेको स्रोत बताउँछ ।
नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका दाबेदार रहेका प्राडा घिमिरेले वर्तमान जिल्ला सभापति राजेश्वर खनाललाई समर्थन गरेका थिए । त्यसैले पार्टीको संस्थापन पक्षले चितवन ३ (क) मा प्राडा घिमिरेलाई टिकट दिने लगभग निश्चित भइसकेको स्रोतको दाबी छ ।




