चितवन । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेलाई एमालेनिकट गठबन्धनले समर्थन गर्ने चर्चा बाहिरिएपछि प्रचण्डको उम्मेद्वारी अन्यौलमा पर्दै आएको थियो । प्रचण्डले चितवन ३ लाई छाडेर गोर्खाबाट लड्न सक्ने संभावना बढेपछि चितवन कांँग्रेसले वैठक बसेर प्रचण्ड सोही क्षेत्रबाट लड्नु पर्ने धारणा सार्वजनिक गरेको हो ।
कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगरी चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’
बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।




