चितवन, २० असोज ।
केही दिन यता परेको अविरल वर्षको कारण नारायणी लगायतका अन्य केही नदीमा बहाव बढ्ने अनुमान गरिएको छ । ती नदीमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने बताइएको छ ।
आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
बाढी सूचना केन्द्रले बिहीबार बिहान सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ ।
आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ ।
यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।




