चितवन, २१ असोज ।
भरतपुरमा दुई लाखभन्दा बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित अनिल गुप्ताको घरबाट उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुप्ताको घरमा केही व्यक्तिहरुले खाल थापी पैसाको बाजी राखेर हारजित हुने गरी तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनको टोली त्यहाँ पुगेको थियो । टोलीले उनीहरुबाट २ लाख २२ हजार रुपैयांँ नगद र १० बुक तास बरामद गरेको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




