काठमाडौं, २४ असोज ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले उनलाई सोमबार अदालतमा उपस्थित गराइएको हो ।
कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुर गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।
लामिछानेविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेपछि उनी काठमाडौं फर्किएका थिए ।
नाबालिग बलात्कारको मुद्दामा कलाकार पल शाहले जेल सजाय भोगिरहेको अवस्थामा सेलिब्रिटी खेलाडी सन्दीपले संयमता गुमाउँदा उनीसँगै देशकै बेइज्जती हुन पुगेको छ ।




