भरतपुर, २५ असोज ।
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको छ । उहाँलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार काठमाडौँ लगिएकामा मंगलबार बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बाघ नियन्त्रणमा
मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।
उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो ।
नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् । रासस




