चितवन, ३० असोज ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफू समग्र चितवनको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ७, पिपलटारमा आइतबार घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै श्रेष्ठले आफू विकासको लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै चितवनलाई समृद्ध बनाउने अभिभारा निभाउने छु’ श्रेष्ठले भने, ‘चितवनमा जल छ, जमिन छ र जंगल छ । त्यसैले अन्तभन्दा छिटो विकास र समृद्धि चितवनमा आउँछ ।’ उनले सबै युवालाई गरीखाने र स्वरोजगार बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पिपलटार चितवनको दुर्गम क्षेत्र हो । विकासका हिसाबले यो क्षेत्र निकै पछाडि परेको छ । शिक्षाप्रेमी एवं विकासप्रेमी नेतालाई आफ्नै घरआँगनमा पाउँदा आफूहरु निकै खुसी भएको पिपलटारवासीले बताएका छन् । उनीहरुले श्रेष्ठलाई जिताएर गाउँको विकास गर्न आफूहरु आतुर रहेकोसमेत बताए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसका केन्द्रीय नेता श्रेष्ठले चुनावी गतिविधि तीब्र पारेका छन् । आइतबार बिहान आँपटारीमा सुकुम्बासीसँग चियापान र भेटघाट गरेका श्रेष्ठले लगत्तै १७ किलोमिटर टाढाको पहाडी गाउँ पिपलटारमा घरदैलो र मतदाता भेटघाट गरेका छन् ।





