काठमाडौँ, १ कात्तिक ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धन बनाइएको बताएका छन् । सत्ता गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताए । ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । कुरा गर्ने मान्छेले जे पनि भन्छन् । तर, कुरामात्रै गरेर हुँदैन । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने, ‘निर्वाचन भनेको आवधिकरुपमा हुने हो, जहिले पायो त्यहीले भोट हाल्न पाइँदैन । ओलीजीले त दुई वर्षअघि नै चुनाव गर्न खोज्नुभएको थियो । मलाई सबै साथीहरूले, जनताहरूले यो कुरा बुझ्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए । ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’




