काठमाडौँ, १२ कात्तिक ।
नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।
कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।
समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउनुभयो ।
तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी घोषणापत्र तयार पारिएको हो ।




