चितवन, १६ कात्तिक ।
नेपाली काँग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले काँग्रेसको वर्तमान जिल्ला नेतृत्वले केटाकेटीपन देखाउँदा चितवन काँग्रेसभित्र विभिन्न समस्या देखिएको बताएका छन् । दशैँ, तिहार, छठ र इदको अवसर पारेर बुधबार नारायणगढमा व्यक्तिगत तवरमा आफैले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै कोइरालाले काँग्रेसको वर्तमान जिल्ला नेतृत्वमा केटाकेटीपन देखिएको बताएका हुन् ।
उद्योग वाणिज्य संघ चितवनको सभाहलमा खचाखच भरिएका आफ्ना शुभेच्छुक र काँग्रेस पार्टीका कार्यकर्तामाझ बोल्दै पूर्वसभापति कोइरालाले वर्तमान जिल्ला नेतृत्वको अकर्मण्यताकै कारण भुइँकटहर समूह जन्मिएको र आसन्न निर्वाचनमा काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको पद त्यागेर बागी उम्मेदवार बनेको विचार व्यक्त गरे ।
मंगलबार दिउँसो काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको विज्ञप्तिमा कोइरालालाई पार्टी पूर्वसभापतिको मान्यता दिइएको छैन । विज्ञप्तिमा ८ जनालाई मात्र पार्टी पूर्वसभापतिको मान्यता दिइएको छ । पार्टीको जिल्ला सभापति रहिसकेका कोइराला र कृष्णलाल सापकोटा त्यस सूचीमा अटाएका छैनन् । पार्टी पूर्वसभापतिको सूचीबाटै कोइरालाको नाम हटाइनु आग्रहपूर्ण व्यवहार भएको सचिव ध्रुवराज पोखरेलको विज्ञप्तिमा भनिएको छ ।
“पूर्वसभापति पद कसैले त्यत्तिकै दिएको हो ? यो पदलाई आफूखुसी दिन र खोस्न मिल्छ ?” पूर्वसभापति कोइरालाले भने, “केन्द्रीय नेतृत्वले सहिछाप गरेर अभिलेख गरेको चिजलाई जिल्ला सभापतिले एकलौटी रूपमा पूर्व सभापति होइनस् भन्न पाउँछ ?”
चियापान कार्यक्रममा नेपाली कांग्रेस चितवनका वर्तमान सचिव ध्रुवराज पोखरेल, निवर्तमान उपसभापति कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने, राजेन्द्र बुर्लाकोटी, पार्वती शाह ठकुरी, केदार कोइराला, राजेश न्यौपाने, मीना खरेललगायत बाक्लो संख्यामा कार्यकर्ता र शुभेच्छुक सहभागी थिए ।




