चितवन, २० कात्तिक ।
प्रदेश नम्बर एक अन्तर्गत मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्ना अभियान संचालन गरेको छ । विश्वविद्यालयले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङमा भर्ना खुलेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका डीन डा. प्रचण्डमान प्रधानले प्राविधिक शिक्षाका लागि मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्न सक्ने जानकारी दिए । यसका लागि डब्लुडब्लुडब्लु डट एसओइ डट एमटियु डट इडियु डट एनपी मा फारम उपलब्ध रहेको डीन प्रधानले बताए ।
“प्रवेश परीक्षा दस्तुर कात्तिक ३० गतेसम्मका लागि एक हजार ८ सय रुपैयाँ र मंसिर ९ गतेसम्मका लागि दुई हजार ५ सय रुपैयाँ तोकेका छौँ” प्रधानले भने, “अन्य विश्वविद्यालयमा नाम निकाल्न नसक्ने विद्यार्थीहरुले पनि प्रवेश परीक्षा दिने अवसर प्राप्त गरुन् भनेर अवधि थप गरिएको हो ।”
स्नातक तहको सिभिल इन्जिनियरिङतर्फ ४८ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ सिट उपलब्ध रहेको प्राविधिक विश्वविद्यालयले जनाएको छ । प्रवेश परीक्षाको आवेदन दिनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट भौतिक वा जीव विज्ञान विषय लिई उच्चमाध्यमिक तह वा सो सरहको परीक्षामा कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्ने प्रावधान रहेको छ ।




