चितवन, २६ कात्तिक ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनसँगको आफ्नो सम्बन्ध भोलिसम्म रहिरहने बताएका छन् । शनिबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको बताउँदै चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । ‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो, यहाँको विकास निर्माणमा मेरो सहयोग चासो चिन्ता जारी रहन्छ’ उनले भने, ‘जे पूर्वाधार सुरु भएका छन् । त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु ।’
उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरे । ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ’ प्रचण्डले भने । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरे ।
प्रचण्डले चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकामा आफू खुशी रहेको पनि बताए । त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । ‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको । निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, मलाई बडो आत्मसन्तुष्टि भएको छ’ प्रचण्डले भने ।




