चितवन । लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारहरुले चुनावी मुल एजेण्डा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई जोड दिएका छन । आज चितवनमा आयोजित गठबन्धन आभसभाका शिर्षस्थ नेता तथा उम्मेदवारले अबको दिशा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गनुपर्ने बताए । यसका लागि अग्रगमनको पक्षमा मत दिन उनीहरुले आग्रह गरे ।
नेपाली कांँग्रेसका सभापति तथा गठबन्धनका साझा उम्मेदवार शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थापित गरी आफ्नै देशमा उद्योग खोलेर र जलश्रोतको विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने बताए । देशलार्ई राजनैतिक स्थायित्व आवश्यक रहेकोले गठबन्धन आवश्यक रहेको उनले बताए ।
चितवन संभावना भएको क्षेत्र भएको भन्दै उनले प्रचण्डको गृहजिल्ला भएकोले गठबन्धनको जित भएमा चितवनको आर्थिक समृद्धिले कोल्टो फेर्ने बताए । स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै ठूलो संघर्षपछि लोकतन्त्र आएको भन्दै देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक रहेको बताए । ‘अब यो गठबन्धन राष्ट्रको शान्ति र विकासको लागि गरिएको हो उनले भने, प्रतिगमन र प्रतिक्रान्तिको लागि यो गठबन्धन बनेको होइन ।’
आफूले गत संघीय निर्वाचनमा चितवनबाट चुनाव जितेर चितवनमा नमुना विकास गरेको भन्दै अहिले गोर्खाबाट लडेपनि चितवनको विकासमा कमी आउन नदिने उनले बताए । देशलाई विकास र समृद्धिको यात्रातिर लैजान गठबन्धन गरिएको उनको भनाई थियो । उनले चितवनका गठबन्धनका उम्मेदवार सबै विज्ञ भएकोले उनीहरुलाई जिताएर आर्थिक समृद्धिको मार्गचित्र कोर्न उनले आग्रह गरे ।
सो अवसरमा बोल्दै चितवन क्षेत्र नम्बर १ का लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार विश्वनाथ पौडेलले देश कोरानापछि आर्थिक रुपमा अप्ठेरोमा रहेपनि खतरातिर उन्मुख नभएको बताए । ‘अहिले नै हामी आत्तिहाल्नुपर्ने स्थिति छैन । नेपाल अझै साउथ एशियामा जोखिम मुक्त नै छ’ उनले भने ।
देशभर सडक पूर्वाधार लगायतका काम धमाधम भईरहेकोले केही बर्षभित्र आर्थिक समृद्धिको दिशातिर देश लम्किने उनले बताए । नेपालमा स्रोतसाधन थुप्रै रहेको भन्दै उनले जलश्रोतको विकास गरि विप्रेषणबाट भन्दा बढी देशले आम्दानी गर्न सकिने बताए । ‘यो बर्षनै हामीले १५ अर्ब भन्दा बढीको विजुली बेच्यौं उनले भने, अबको केही बर्षमै जलश्रोतको क्षेत्रबाट विप्रेषणबाट भन्दा बढी कमाउंँछौ ।’ यसको लागि राजनैतिक स्थायित्व हुनुपर्ने र अनाबश्यक क्षेत्रमा गरिएको लगानी रोक्नुपर्ने उनको भनाई थियो ।
चितवन क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो शिक्षा क्षेत्रमा ३ दशक भन्दा बढी अनुभव र लगानी गर्दै आएको भन्दै उनले चितवनको स्वास्थ्य, कृषिक्षेत्रको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मैले शिक्षा, स्वास्थ्य, हाइड्रोमा लगानी गरेर सफल भईसकेको छु, उनले भने, म अब चितवनको स्वास्थ्य, तथा कृषि क्षेत्रमा फड्को मार्न चाहन्छु ।’
चितवन क्षेत्र नम्बर ३ का साझा गठबन्धनका उम्मेदवार डाक्टर भोजराज अधिकारीले आफू यही जिल्लामा जन्मेको र स्वास्थ्य क्षेत्रमा सुधारका लागि लागि परेकाले यसलाई मुर्तरुप दिनपनि आफूलाई जिताउन आग्रह गरे । राजनीतिलाई विकाससंग जोड्न आफ्नो उम्मेदवारी रहेको भन्दै उनले भने, ‘जनतालाई शिक्षा, स्वास्थ्य कृषि पर्यटनसंँग जोडेर रोजगारी सिर्जना गर्नु मेरो प्रमुख एजेण्डा हो ।’
व्यक्ति स्वस्थ नभई देश स्वस्थ हुन नसक्ने भन्दै हरेक नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुंँच पुर्याउन पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष केशवबहादुर श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको लागि गठबन्धन गरिएको बताए । जनताको जनादेश बोकेर गठबन्धन हिडेको भन्दै उनले लोकतन्त्रको रक्षा र प्रतिगमनलाइ परास्त गर्न गठबन्धनले चुनाव जित्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चा पार्टीका कार्यकारी अध्यक्ष लक्ष्मीराज न्यौपाने, कांँग्रेस सहमहामन्त्री डिना संग्रौला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।




