।। सूर्यप्रकाश कँडेल ।।
पुरानो सत्ता गठबन्धनको समीकरणलाई निस्तेज पारेर नयाँ सत्ता गठबन्धनसहित सरकार प्रमुख बनेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक दुई दिनअघि गत शनिबार चितवन आए । भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कुरा कम र काम बढी गर्नेतिर आफू लाग्ने बताए । उनको यो अभिव्यक्तिसँगै चितवनमा अधुरा रहेका केही ठूला काम पूरा हुने आशा चितवनवासीमा पलाएको छ । भरतपुर विमानस्थल बिस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुरु र चक्रपथ निर्माणको काम पूरा होला त ? यसको जवाफ कुरिरहेका छन् चितवनवासीले ।
विमानस्थल बिस्तार कहिले ?
भरतपुर विमानस्थललाई बिस्तार गरेर ठूला जहाज अवतरण गर्न मिल्ने बनाउने भनेर चर्चा चलाइएको दुई वर्षभन्दा बढी भइसकेछ । विगतमा भरतपुर विमानस्थल बिस्तारको विषयलाई लिएर अन्तरक्रिया र गोष्ठी गर्नुबाहेक अरु काम हुन सकेको छैन । भरतपुर महानगरपालिकामा पुरानै नेतृत्वको निरन्तरता र सरकार प्रमुखमा प्रचण्डको नियुक्तिले अब भरतपुर विमानस्थल बिस्तारको काम भौतिकरुपमै सुरु हुन्छ कि भन्ने आशा पलाएको त छ तर यो आशा पूरा हुने कुरा भने शंकाकै घेरामा छ ।
अहिले भरतपुर विमानस्थलमा रहेको १ हजार २ सय मिटरको धावनमार्ग (रनवे) लाई १ हजार ६५० मिटर लामो बनाउने भनी विगतमा चर्चा चलाइएको थियो । यति हुँदा विमानस्थलमा एटीआर ७२ विमानले सजिलै उडान र अवतरण गर्न सक्ने उनले बताइन्छ । भरतपुरको धावनमार्ग १ हजार ६५० मिटर बनाउँदा यो आन्तरिक उडान हुने विमानस्थलमध्ये धनगढी (१ हजार ८ सय मिटर) पछिको दोस्रो ठूलो धावनमार्ग भएको विमानस्थल बन्नेछ ।
अलपत्र रंगशाला
भरतपुर महानगरपालिका १५, रामपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भनेर काम सुरु गरेको ठ्याक्कै चार वर्ष पूरा भएको छ । २०७५ साल माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई रंगशाला निर्माणको काम अघि बढाइएको थियो । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात झिकेपछि निर्माणाधीन रंगशालाको भविष्य नै अन्यौलमा परेको छ ।
फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गर्दै आफ्नो गम्भीर दायित्वबाट उम्केको छ । सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा भने निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको थियो ।
फाउण्डेशनले हात झिकेपछि निर्माण कार्य ठप्प भएको पनि एक वर्ष बितिसकेको छ । रंगशाला निर्माण सम्पन्न गर्न तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनको दाबी छ । रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको र १२ करोड रुपैयाँ ऋण रहेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन् । अलपत्र रंगशालाले कहिले पुनर्जीवन पाउने हो ? कुनै ठेगान छैन ।
अपूरो चक्रपथ
भरतपुर महानगरपालिकाको प्रमुख भएर पाँच वर्षअघि पहिलोपटक रेनु दाहाल निर्वाचित भएपछि देखाइएको पहिलो सपना थियो चक्रपथ (रिङरोड) र पहुँचमार्ग (लिङ्करोड) । साढे चार वर्षअघि शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्र्तगत भरतपुर महानगरमा १ अर्ब ४६ करोड ६ लाख ७४ हजार ६ सय ९ रुपैयाँमा १३ वटा सडक निर्माण गर्ने प्रक्रिया सुरु गरियो । महानगरको रिङरोड अन्तर्गत ८.५ किमी सडक र लिङ्करोडका रुपमा ५१.५ किमी सडक बन्ने बताइएको थियो । कामको सुरुवात त भयो तर साढे ४ वर्षमा पनि काम पूरा हुन सकेन ।
अहिले देशका प्रधानमन्त्री बनेको प्रचण्डको गृहजिल्ला चितवनमा अब फेरि विकासको लहर त त्यस्तै हो, चर्चा भने आउने नै छ । किनकि पहिले चर्चा गरिएको बहुतल्ले व्यावसायिक भवन (मल) को जग निर्माण नै सुरु भएको छैन भने भरतपुरमा सिटी हल निर्माणाधीन छ । पुलचोक–गोन्द्राङ ६ लेनको सडक निर्माण कार्य लथालिङ्ग हिसाबले अगाडि बढेको छ । तैपनि आशा गरौँ, अपूरो चक्रपथ र रंगशालाले अबको केही वर्षमा पूर्णता पाउने छन् । अनि भरतपुर विमानस्थलको बिस्तार पनि होला ।




