काठमाडौँ २२ माघ
नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गरियोस् भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज (आईतबार) निर्वाचन आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन चढाएका हुन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।
सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावकाे माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।




