काठमाडौँ १९ साउन
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् ।
मल्लले उमेर समुह हुँदै राष्ट्रिय टोलीको कप्तानका रुपमा नेपालका लागि क्रिकेट खेलेका छन् । नेपाली क्रिकेट टोली श्रीलंकामा भएको एसीसी इमर्जिङ कप खेलेपछि १५ दिने हाई पर्फमेन्स ट्रेनिङपछि स्वदेश फर्किएको दोस्रो दिन नै सन्यासको घोषणा गरेका हुन् ।
विगत केही समय यता ज्ञानेन्द्र नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहेका छन् । उनले जिम्बाबेमा भएको विश्वकप छनोटको नेपाली टोलीमा भए पनि समुह चरणका कुनै खेल खेल्न पाएका थिएनन् । उनले विश्वकप छनोटमा प्लेअफका दुई खेल खेलेका थिए । उनी फर्ममा नभएको लामो समय भएको थियो । उनले विश्वकप छनोटको प्लेअफका खेलमा आयरल्याण्डविरुद्ध ७ रन तथा युएईविरुद्ध १३ रन बनाएका थिए ।
ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीको भरपर्दो ब्याट्सम्यान रहेका थिए । उनले नेपालका लागि खेलेको ३५ खेलमा ८५६ रन बनाएका छन् । त्यस्तै ४५ टी–२० अन्तराष्ट्रिय खेलमा ८८३ रन बनाएका छन् । मल्लले ७५ लिष्ट ए खेलमा १७८२ रन बनाउँदा ६८ टी–२० मा १२६७ रन बनाएका छन् ।
मल्लले सन् २०१८ मा ज्ञानेन्द्रले एक दिवसीय अन्तराष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गरेका थिए । उनलाई सन् २०१८ अगष्टमा एशियाकपको छनोटमा नेपाली टोलीको उपकप्तानको जिम्मेवारी दिइएको थियो ।
त्यसको एक वर्ष पछि जुलाई २४, २०१९मा मलेसियाविरुद्धको खेलमा नेपालका नियमित कप्तान रहेका पारस खड्काले चोटका कारणले खेल गुमाउँदा मल्लले नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका थिए ।
त्यस्तै फस्ट क्लास क्रिकेटमा मरिलिबोन क्रिकेट क्लवविरुद्ध नोभेम्बर ६, २०१९ मा डेब्यु गरेका थिए । उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१४ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध पहिलो सतक प्रहार गरेका थिए । उनले अन्राष्ट्रिय टी–२० मा दक्षिण काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध सर्वाधिक १०७ रन बनाएका थिए । उनी शतक प्रहार गर्ने नेपालका सातौं खेलाडी पनि हुन् ।
आफूले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि पत्रकार सम्मेलनमा बताएका छन् । सवैलाई धन्यवाद दिएका मल्लले क्रिकेटबाट भने आफू टाढा नहुने पनि बताए ।




