काठमाडौँ ३१ भदौ
महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक-फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
साथै दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । धेरै चिल्लो र पिरो खानेकुरा खान नहुने बताएका छन् । खानाको सन्तुलन नमिल्दा शरीर स्वस्थ नहुने बताएका छन।




