काठमाडौं२९ पुस
आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ ।
आजको बैठक राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा केन्द्रित रहनेछ । राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि सत्तारुढ चार दलले बाँडफाँट गरिसकेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादीले १ सिट पाएको छ । राष्ट्रपतिमा मनोनीत हुने एक सदस्य पद भने जनमोर्चाको भागमा परेको छ ।




