चितवन : नेपालका एक मात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजको प्रमुख उपस्थितिमा महामहोत्सवको समापन गरियो। स्वामी आत्मानन्द गिरीजीले महोत्सवले धार्मिक, सांस्कृतिक तथा सामाजिक पुनर्जागरणमा महत्वपूर्ण योगदान दिएको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
समापन समारोहमा महामहोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले पनि भक्तजनहरू, स्वयंसेवकहरू, सुरक्षाकर्मी तथा सम्पूर्ण आयोजकहरूलाई सफल आयोजनाको लागि धन्यवाद व्यक्त गर्नुभयो। देवघाट महामहोत्सवमा श्रद्धालु भक्तजनहरूले अर्पण गरेका खाद्यान्न तथा जिन्सी सामग्रीलाई व्यवस्थित रूपमा संकलन गरी विभिन्न गुरुकुल तथा आश्रमहरूमा वितरण गरिएको छ। आयोजकका अनुसार, चितवन, तनहुँ, नवलपुर, पर्वत, धादिङ लगायत विभिन्न जिल्लाका ३० भन्दा बढी गुरुकुल तथा आश्रमहरूलाई आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री उपलब्ध गराइएको छ।
महामहोत्सवमा श्रद्धालुहरूले अर्पण गरेको चामल, तेल, आलु, नुन, आटा लगायतका दैनिक उपभोग्य वस्तुहरू हरिहर आश्रम, महेश आश्रम, कल्याणी गुरुकुल, गार्गी कन्या गुरुकुल, रामजानकी गुरुकुल, रुपानुगा परा विद्धापीठ, सिद्धेश्वर गुरुकुल (मलेखु), मानव सेवा आश्रम, वागेश्वरी गुरुकुल, गौशाला लगायतका ५०औ धार्मिक तथा सामाजिक संस्थाहरूमा पठाइएको छ। आयोजकका अनुसार, पठाइएका सामग्रीहरू ४ देखि ६ महिनासम्म पुग्ने गरी आवश्यक मात्रामा वितरण गरिएको हो।
महामहोत्सवमा संकलित खाद्यान्न तथा अन्य सामग्रीहरूको दुरुपयोग हुन नदिन विशेष सावधानी अपनाइएको थियो। महोत्सवका आयोजक तथा स्वयंसेवकहरूले प्रत्येक सामग्रीलाई ध्यानपूर्वक वर्गीकरण गरी उचित व्यवस्थापन गरेका थिए। सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले महोत्सवमा संकलित दान तथा सामग्रीहरूलाई सही ठाउँमा पुर्याउने कुरामा विशेष ध्यान दिइएको बताउनुभयो।
महोत्सव सम्पन्न भएलगत्तै आयोजकहरूले देवघाट क्षेत्रमा विशेष सफाइ अभियान सञ्चालन गरेका छन्। समापन समारोहको भोलिपल्टै ११० जना स्वयंसेवकहरूको टोलीले महोत्सव सम्पन्न भएको स्थान, स्नान स्थल तथा बगरको सफाइ गरेका थिए। तीन दिनसम्म निरन्तर रूपमा फोहोर संकलन गरी ट्र्याक्टरमार्फत व्यवस्थापन गरिएको छ।
महामहोत्सवमा संकलित आर्थिक सहयोग तथा खर्चको पारदर्शिता कायम गर्न आयोजकले विशेष पहल लिएको छ।
आर्थिक व्यवस्थापनको सम्पूर्ण विवरण पारदर्शी बनाउन ६ जना चार्टर्ड एकाउन्टेन्ट (सीए) को टोलीले सम्पूर्ण हिसाब-किताब गरिरहेको छ। आयोजकका अनुसार, केही दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरिनेछ।
महामहोत्सवका प्रेस संयोजक नारायण भण्डारीले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन आयोजक समिति पूर्ण रूपले प्रतिबद्ध रहेको बताउनुभयो। “महामहोत्सवमा देशभरका ३०औ लाख भक्तजनहरूको उपस्थिति रह्यो। यसरी भक्तहरूले अर्पण गरेको सामग्रीलाई सही ठाउँमा पुर्याउनु हाम्रो जिम्मेवारी हो,” उहाँले भन्नुभयो।
देवघाट महामहोत्सवले धार्मिक आस्था, संस्कृतिको प्रवर्द्धन, सामाजिक एकता तथा दिगो सेवाभावको उदाहरण प्रस्तुत गरेको आयोजकको निष्कर्ष छ। महामहोत्सवले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र देवघाटलाई थप प्रभावशाली धार्मिक स्थलको रूपमा स्थापित गरेको छ।




