चितवन । नेपाल प्रिमियम लिग (एनपिएल) को फ्रेन्चाइज क्लब चितवन राइनोज महिला हिंसा विरुद्धको अभियानमा सक्रिय रूपमा लागेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानमा राइनोज सहभागी भएको हो ।
चितवन राइनोजको प्रायोजनमा तयार गरिएको महिला हिंसा विरुद्धको सन्देशमूलक स्टिकर तयार गरी आजबाट सवारी साधनहरुमा टाँस्न शुरु गरिएको छ । नारायणगढस्थित पोखरा बसपार्कमा आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बसमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, चितवन राइनोजका निर्देशक एवं चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापा सहित यातायात व्यवसायी, सर्वसाधारण, महिला अधिकारकर्मीको उपस्थिति थियो ।
महिला सुरक्षा र सम्मानको पक्षमा गरिएको यो पहलले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास क्लबले व्यक्त गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले महिला हिंसा विरुद्धको अभियानमा सबै आआफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनुभयो । आफूहरूले अभियानका क्रममा सबै क्षेत्रमा कार्यक्रम गरेर सचेतना ल्याउने काम गरिरहेको उहाँको भनाई छ ।
सोही अवसरमा चितवन राइनोजका निर्देशक देवकोटाले चितवन राइनोज खेलमा मात्रै नभई समाजका हरेक गतिविधिमा जोडिन चाहेको बताउनुभयो ।
यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम सुवेदीले यातायात व्यवसायी महिला हिंसाका बारेमा सधैँ सचेत रहेको बताउनुभयो ।




