अस्ट्रेलिया । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। फोन एडिक्सन र कलिलो दिमागमा गलत कुराहरुले असर गर्ने भन्दै यो कानुन ल्याइएको हो।
बुधबारदेखि फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, युट्युब, स्न्यापच्याट, रेडिट, किक, ट्विच र टिकटकजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका अस्ट्रेलियाली प्रयोगकर्ताका खाताहरू हटाउने र नयाँ खाता खोल्न नदिने कदम चालिसकेको बताइएकाे छ। नियम पालन नगरेका प्लेटफर्महरूले ४९.५ मिलियन डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
सामाजिक सञ्जालले बालबालिकाको स्वास्थ्य र सुरक्षामा पारिरहेको प्रभावबारे बढ्दो चिन्ताबीच अन्य देशहरू पनि यस्तै उमेरका आधारमा कडा उपायहरू अपनाउने विचार गरिरहेका छन्।
यो कानुनलाई प्रमुख प्रविधि कम्पनी र अभिव्यक्ति स्वतन्त्रता अभियन्ताहरूले आलोचना गरे पनि अभिभावक तथा बालअधिकारकर्मीहरूले स्वागत गरेका छन्। सरकारले पनि यो नियम पहिलो दिनदेखि नै पूर्ण रूपमा प्रभावकारी नहुने स्वीकार गरेको छ।




