काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ। सांसदहरूको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार उक्त रिट दायर गरेका हुन्।
रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाको माग गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेसँगै प्रतिनिधि सभा विघटन गरी भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।
प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको भन्दै यसअघि मंसिर १० गते नेकपा एमालेका ७५ सांसदले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए।
यसैगरी, मंसिर २३ गते कांग्रेसका ८ जना सांसदले रिट दायर गरेका थिए। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले पुस २ गते कारण देखाउ आदेश जारी गरेको थियो।
त्यसपछि मंगलबार पुस ८ गते कांग्रेसका ६५ सांसद तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी कुल ६८ जनाले हस्ताक्षर गरेर पुनः रिट दायर गरेका हुन्।




