काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् ।




