चितवन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल चार दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ। माघे संक्रान्तिलाई लक्षित गरी पुल मर्मत तथा सम्भार कार्य गर्न पुस २४ गतेदेखि पुस २७ गतेसम्म दैनिक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पुलबाट आवतजावत रोक लगाइएको हो।
शहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले उक्त पुलको मर्मत सम्भार गर्ने जनाएको छ। करिब ४४ वर्षअघि निर्माण भएको यो झोलुङ्गे पुल पछिल्लो समय अत्यन्त जिर्ण अवस्थामा पुगेको छ। मानिस मात्र आवतजावत गर्ने उद्देश्यले डिजाइन गरिएको पुलमा पछिल्लो समय मोटरसाइकलको अत्यधिक प्रयोग बढेपछि सम्भावित दुर्घटना न्यूनीकरणका लागि केही समयदेखि मोटरसाइकल आवतजावतमा रोक लगाइएको पुल विभागले जनाएको छ।
२०३७ सालमा निर्माण भएको उक्त पुल जिर्ण बन्दै गएपछि हरेक वर्ष मर्मत हुँदै आएको छ। विशेष गरी चाडपर्व तथा मेलाका समयमा पुलमा अत्यधिक भीड हुने गरेको छ। स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलका अनुसार भीडका बेला एकैपटक पाँच सयभन्दा बढी व्यक्तिले पुल पार गर्दा पुल पिङझैं हल्लिने गर्दछ। यस्तो अवस्थामा कुनै अप्रिय घटना भए सयौं नागरिकको ज्यान जोखिममा पर्न सक्ने उनले चेतावनी दिए।
देवघाटमा मेला लाग्ने दिनमा दैनिक २५ देखि ३० हजार तथा सामान्य दिनमा पनि पाँच हजारभन्दा बढी सर्वसाधारणले उक्त झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन्। देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत बासिन्दा भरतपुर आउन सबैभन्दा छोटो मार्गका रूपमा यही पुल प्रयोग गर्दै आएका छन्।
साउन महिनाको बोलबम मेला, बालाचतुर्दशी, माघे संक्रान्ति, औंशी, एकादशी, सूर्य तथा चन्द्र ग्रहणजस्ता धार्मिक अवसरमा दशौं हजार भक्तजनले पुल प्रयोग गर्ने गर्दछन्। हाल देवघाट पुग्न झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुंगा र नवलपुर जोड्ने हर्दीमा मोटरेबल पुल सञ्चालनमा रहे पनि देवघाट आउने करिब ९५ प्रतिशत भक्तजन चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गरेर तनहुँ प्रवेश गर्ने गरेको पौडेलले दाबी गरे।
निर्माण भएको ४४ वर्षको अवधिमा करिब तीन करोडभन्दा बढी भक्तजनले उक्त पुलबाट आवतजावत गरिसकेको अनुमान गर्दै पौडेलले अब झोलुङ्गे पुलको दीर्घकालीन विकल्प खोज्न ढिला गर्न नहुने बताए। समयमै विकल्प नखोजिए कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै उनले पुलमा मोटरसाइकल सञ्चालन पूर्ण रूपमा रोक्नुपर्ने मागसमेत दोहोर्याए।




