काठमाडौं – गायक तथा इन्डियन आइडल तेस्रो सिजनका विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ बर्षिय तामाङको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण आज निधन भएको हो । चलचित्रकर्मी राजेश घतानीले उनको निधनको पुष्टि गरेका छन् ।
दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले भारतीय प्रहरी सेवामा कार्यरत रहँदा नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । इन्डियन आइडलको उपाधि जितेपछि उनले नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।
उनले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता नेपाली फिल्ममा मुख्य भूमिकामा देखिएका उनी वेब सिरिज ‘पाताल लोक–२’ मा पनि देखिएका थिए । सलमान खानसँग सहकार्य गरिएको फिल्म ‘ब्याटल अफ गलवान’ भने अझै प्रदर्शनमा आउन बाँकी छ ।
तामाङले गाएका ‘मन साइली’, ‘गोर्खा पल्टन’ र ‘असारै महिनामा’ लगायतका गीतहरू अत्यन्त लोकप्रिय छन् ।




