तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ अन्तर्गत द्वन्द्व्राङ बेँसीस्थित त्रिशूली नदीको किनारमा बसको भग्नावशेष फेला परेको छ । यो गत वर्ष भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एक हुन सक्ने अनुमान गरिएको छ।
मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले बसजस्तै देखिने वस्तु देखेको जानकारी दिएका थिए। सूचना पाएपछि तत्कालै बालुवामा पुरिएको बस निकाल्ने काम सुरु गरिएको छ।
देखिएको नीलो रङ सिमलतालबाट बेपत्ता भएको गणपति बसको रङसँग मिल्ने भएकाले सोही बस हुन सक्ने आशंका गरिएको भए पनि बस पूर्ण रूपमा निकालिएपछि मात्र यकिन गर्न सकिने प्रहरीले जनाएको छ।
गत असार २८ गते बिहान वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेका थिए ।
दुवै बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको, तीन जना घाइते भएका र ५१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




