काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका प्रतिनिधिहरूको दर्ता आज बिहान ८ः३० बजेदेखि पुनः सुरु भएको छ।
आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिहरूको नाम दर्ता तथा खाजाको समय छुट्याइएको छ भने बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जनाइएको छ। आइतबार बेलुकासम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम तथा एकिन संख्या पनि आजै सार्वजनिक गरिने बताइएकाे छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महासभाको समर्थनमा आइतबार मात्रै २,६६२ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएका थिए। विशेष महासभालाई समर्थन गर्ने नेपाली कांग्रेसको एक समूहले आयोजना गरेको कार्यक्रममा पहिलो दिन आठवटा दर्ता कक्ष सञ्चालनमा ल्याइएको थियो।
कार्यक्रम समन्वय समितिका संयोजक युवराज पाण्डेका अनुसार कोशी प्रदेशबाट ४२५ जना, मधेश प्रदेशबाट ४४६ जना, बागमती प्रदेशबाट ४३२ जना, गण्डकी प्रदेशबाट २९६ जना, लुम्बिनी प्रदेशबाट ३९८ जना, कर्णाली प्रदेशबाट १३४ जना, सुदूरपश्चिम प्रदेशबाट १४८ जना, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट १७८ जना तथा भ्रातृ संस्था, शुभेच्छुक र समन्वय समितिबाट १९५ जना प्रतिनिधिहरू विशेष महासभाको पक्षमा रहेका छन्।
आइतबार दर्ता गर्न छुटेका प्रतिनिधिहरूलाई आज बिहान ११ बजेसम्म नाम दर्ता गर्ने समय दिइएको पाण्डेले जानकारी दिए। यसैबीच, विशेष महासभाको बन्दसत्र केही बेरमै सुरु हुने तयारी गरिएको छ।




