काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार अपराह्न साढे ५ बजेतिर एक विशेष चार्टर्ड विमानमार्फत उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार डिपोर्ट गरिएकामध्ये ७९ जना पुरुष र एक जना महिला रहेका छन्। उनीहरू नेपाल अवतरण गरेसँगै प्रहरीले आवश्यक कानुनी अनुसन्धान र सोधपुछ सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट डिपोर्ट गरिएका अधिकांश नेपालीहरूले विभिन्न दलालमार्फत ‘तल्लो बाटो’ (लगातार विभिन्न देशहरू पार गर्दै मेक्सिको सीमा) प्रयोग गरेर अमेरिका छिर्ने प्रयास गरेको खुलेको छ। केहीले अमेरिका पुग्नका लागि प्रतिव्यक्ति १ करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको बताइएकाे छ। डिपोर्ट हुनेमध्ये एक जना भने अध्ययन भिसामा गएर उतै अवैध रूपमा बसेको पाइएको छ।
प्रहरीले यस घटनालाई मानव बेचबिखन र अवैध आप्रवासनको संगठित अपराधसँग जोडेर थप अनुसन्धान अघि बढाएको छ।




