काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी, अर्थात् वसन्त पञ्चमी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ।
ज्ञान, बुद्धि र विवेककी खानीका रूपमा पुजिने सरस्वतीको आजको विशेष दिनलाई विद्यार्थी, शिक्षक र साधकहरूले वर्षकै सबैभन्दा पवित्र दिनका रूपमा लिने गर्दछन्। आफ्नो कला-साधनामा प्रयोग हुने कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतिविम्ब मानी पूजा-आराधना गर्ने परम्परा छ।
विशेषगरी विद्यालयहरूमा आज सरस्वतीको प्रतिमा स्थापना गरी सामूहिक पूजा र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। सरस्वती पूजाको दिनलाई विवाह, व्रतबन्ध जस्ता शुभ कार्यका लागि साइत हेर्नु नपर्ने ‘सिद्ध’ दिनका रूपमा समेत लिइने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले आजको दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आ-आफ्ना सिर्जनाका माध्यमहरूको विशेष पूजा गर्छन्।
आजको दिन साना बालबालिकालाई अक्षरारम्भ (अक्षर चिनाउने) गराउनु निकै शुभ मानिन्छ। काठमाडौँका स्वयम्भू, मैतीदेवी, ग्वार्खोस्थित सरस्वती मन्दिर, ललितपुरको लेले र भक्तपुरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।
यसबाहेक, सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा समेत मान्ने गरेका छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतुको औपचारिक प्रारम्भ हुने जनविश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रीय उल्लेख छ।




