काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) सम्बन्धी फेसबुकमा लेखेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले कडा प्रतिक्रिया दिएका छन्। अध्यक्ष ओलीले फेसबुकमार्फत नीति र विकासका मुद्दामा बहस गर्न आफू तयार रहेको र अरूलाई पनि सहभागी हुन आग्रह गरेका छन्।
ओलीको उक्त पोस्टमा टिप्पणी गर्दै बालेनले बहसमा बस्न अस्वीकार मात्र गरेनन्, बरु पुराना नेताहरूले दशकौँसम्म काम नगरेको भन्दै कटाक्ष गरे। बालेनले काम गर्ने बेलामा नगर्ने तर अहिले आएर गफ मात्र गर्ने भन्ने आशयका साथ बहसभन्दा परिणाममुखी काममा जोड दिनुपर्ने तर्क अघि सारेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा बालेन शाह र एमालेका शीर्ष नेताहरूबीच विभिन्न विषय सुकुम्वासी व्यवस्थापन, न्युरोड फुटपाथ, र नीतिगत निर्णयहरूमा वाकयुद्ध चल्दै आएको छ। ओलीको डिबेट प्रस्ताव र बालेनको कडा जवाफलाई यही शृङ्खलाको अर्को कडीका रूपमा हेरिएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत एजेन्डामा आधारित सार्वजनिक बहस ‘पब्लिक डिबेट’ को आह्वान गरेपछि बालेनले त्यसको कडा प्रतिवाद गरेका हुन्।





