काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा औपचारिक भ्रमणका लागि आइतबार जापान प्रस्थान गर्ने भएका छन्।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपाल एयरलाइन्सको उडानमार्फत जापान जाने कार्यक्रम रहेको छ। परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेलसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहनेछन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले फेब्रुअरी ३ मा टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसका साथै उहाँले जापानकी प्रधानमन्त्री सानाए ताकाइची तथा परराष्ट्र मन्त्री होरिइए इवाओसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
फेब्रुअरी २ मा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक पूरा भएको उपलक्ष्यमा जापान सरकारद्वारा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुनेछन्।
त्यसैगरी, उहाँले जापानी व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्नुका साथै आफ्नो सम्मानमा जापानस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।
राष्ट्रपति पौडेल फेब्रुअरी ४ मा स्वदेश फर्किने जनाइएकाे छ।




