काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आफ्नो पूँजी संरचनाको महत्वपूर्ण हिस्सा बजारमा ल्याएको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको छ। जसमध्ये सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता, कर्मचारीका लागि १३ हजार ७९३ कित्ता, सर्वसाधारणका लागि बाँकी कित्ता छुट्याइएको छ । बाँकी शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सकिनेछ। साथै, सीडीएससीको ‘मेरो शेयर’ पोर्टल वा एपमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। हाइड्रोपावर क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि यो एक राम्रो अवसर हुन सक्छ।




