कास्की । पोखरा रंगशालामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल बंगलादेश र भारतबीच दिउँसो १२ बजे हुँदैछ । त्यसैगरी दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ ।
यसअघि नेपाल र भुटान दुवैले आफ्नो पहिलो खेलमा भारत र बंगलादेशसँग पराजय बेहोरेका थिए । पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । त्यस्तै, बंगलादेश र भारतले एक–एकको जितसँगै समान तीन अंक जोडेका छन् ।
प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ । प्रतियोगिता दक्षिण एसियाली फुटबल महासंघ (साफ) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको हो ।
च्याम्पियनसिप ‘राउण्ड रोबिन लिग’ ढाँचामा सञ्चालन हुनेछ, जहाँ प्रत्येक टोलीले अर्को टोलीसँग एक खेल खेल्नेछ । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले फागुन ७ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




