काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी प्रकरणमा सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुदैछ।
अमेरिकी नागरिकता कायम राख्दै नेपाली राहदानी लिएको आरोपमा लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले दुई वर्षअघि रिट दायर गरेका हुन्। रिटमा उक्त निर्णय कानुनविपरीत भएको दाबी गरिएको छ।
यसअघि सर्वोच्च अदालतले यो प्रकरणमा गम्भीरता देखाउँदै तीन पटकसम्म सम्बन्धित फाइलहरू मगाउने आदेश दिइसकेको छ । २०७९ चैत २२ गते विपक्षीका नाममा ‘कारण देखाऊ आदेश’ जारी भएको यस मुद्दामा २०८० जेठ ९ गते आवश्यक कागजात पेस गर्न आदेश दिइएको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउनुको आधार र कारणसहितको प्रतिवेदन अदालतमा बुझाएपछि अब दुवै पक्षबीच ‘दोहोरो सुनुवाइ’ हुन लागेको हो । रिटमा लामिछानेले राहदानी ऐन उल्लंघन गरेको र मुद्दा टुंगो नलाग्दासम्म राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रियामा रहेको समयमा पुरानै नागरिकताका आधारमा नेपाली राहदानी लिएको विषय नै यो विवादको केन्द्रमा छ। आज हुने सुनुवाइले यो मुद्दा अगाडि बढ्ने वा नबढ्ने भन्नेबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।




