झापा । रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नेपालको कमजोर आर्थिक अवस्थाका कारण संविधानमा लेखिएको नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा लागू गर्न गाह्रो भएको बताएका छन्। बिहानै झापा ५ स्थित कमल गाउँपालिका ६ का स्थानीयहरुसँग भेटघाटमा व्यस्त रहेका बालेन शाहले स्थानीयहरूसँगकाे अन्तरक्रियाका क्रममा यस्ताे बताएका हुन्।
मतदातासँग बोल्दै बालेनले भने, देशको कुल बजेट करिब १.९ ट्रिलियन रुपैयाँ मात्रै भएकोले सबै नागरिकलाई पूर्ण रूपमा नि:शुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्य दिन सम्भव छैन। “संविधानमा लेखिँदैमा बजेट नहुँदा कार्यान्वयन हुँदैन,” उनको भनाइ थियो।
उनले गरिब र विपन्न नागरिकको जिम्मा राज्यले लिनुपर्छ भने आर्थिक रूपमा सक्षमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी र व्यवसाय गर्न दिने व्यवस्था हुनुपर्ने बताए। सबैका लागि तुरुन्तै पूर्ण नि:शुल्क सेवा सम्भव नभए पनि, अवस्था अनुसार सेवा र शुल्क मिलाएर सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
चुनावी अभियानमा रहेका बालेनले खोक्रा आश्वासनभन्दा यथार्थमा आधारित योजना आवश्यक रहेको संकेत गरेका छन्।




