काठमाडौं, माघ २० । आगामी निर्वाचनमा काठमाडौँ ५ बाट पुनः उम्मेदवार बनेका कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।
यसपटकको निर्वाचन देशकै भाग्य बदल्ने अवसर भएको उनले बताए। जनागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए ।
नागरिकका अपेक्षाहरूलाई सम्बोधन गर्न कांग्रेसले यसपटक प्रमुख १० प्राथमिकता तय गरेर अघि बढ्ने उनले जानकारी दिए। “नागरिकका गुनासाहरू हामीलाई थाहा छ, ती गुनासालाई सम्बोधन गर्दै अब समृद्धिको नयाँ मार्गचित्र कोर्ने बाटोमा हामी छौँ,” पौडेलले भने। उनका अनुसार नेपाली कांग्रेसले घोषणापत्र केवल नारा मात्र नभई कार्यान्वयन गर्न सकिने ‘भिजन डकुमेन्ट’ ल्याउँदैछ।
काठमाडौँ ५ का अधुरा योजनाहरू पूरा गर्न र नीति निर्माणमा सक्रिय भूमिका खेल्न आफू पुनः चुनावी मैदानमा आएको उनले स्पष्ट पारे। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।




