दमौली, माघ २१ । नेपाल सरकारको सेवाबाट केही समयअघि निवृत्त हुनुभएका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। तनहुँको व्यास नगरपालिका–९, गजौडेमा मंगलबार आयोजित नेपाली काँग्रेस वडा कार्यसमितिको भेलामा भण्डारीले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गर्नुभएको हो।
सोही स्थानमा जन्मिनुभएका भण्डारीसँगै सेवा निवृत्त इन्जिनियरहरू ज्ञानेन्द्र आचार्य, महेन्द्र कुँवर र बिरेन्द्र अधिकारीले पनि आजै नेपाली काँग्रेसको सदस्यता लिएका छन्। नवप्रवेशी सदस्यहरूको स्वागत नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई, काँग्रेस केन्द्रीय सदस्य प्रकाश पन्थ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल तथा गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले माला र खादा लगाएर गर्नुभएको थियो।
पार्टी प्रवेशपछि आयोजित कार्यक्रममा बोल्दै पूर्व सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले गोविन्द भट्टराईलाई विकासप्रेमी, निष्ठावान र सादगीपूर्ण नेता भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी निर्वाचनमा भट्टराईलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै एकजुट हुन आग्रह गर्दै, “हामी सबैको साझा प्रयासले मात्र काँग्रेसको विजय सुनिश्चित गर्न सक्छ,” भन्नुभयो।
लामो समय प्रशासनिक सेवामा अनुभव हासिल गरेका भण्डारी तथा प्राविधिक क्षेत्रका व्यक्तित्वहरूको पार्टी प्रवेशले नेपाली काँग्रेसको स्थानीय संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। अनुभवी र प्राविधिक व्यक्तिहरूको समावेशीकरणलाई पार्टीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले भविष्यमा संगठनात्मक तथा नीतिगत रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




