काठमाडौं, माघ २१ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले आज बुधबारदेखि देशभर आफ्नो विशेष उपस्थिति र गस्ती सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ अनुसार सेनाले मतदानको ठीक एक महिना अगावै फिल्ड परिचालनको कमान्ड सम्हालेको हो।
७९ हजार ७२७ सैनिक सडकमा
सरकारले यसपटकको निर्वाचन सुरक्षाका लागि कुल ७९ हजार ७२७ सैनिक जनशक्ति खटाउने निर्णय गरेकाे छ। आज बिहानैदेखि देशका विभिन्न भागमा सैन्य टोलीहरूले ‘पट्रोलिङ’ र सुरक्षा निगरानी थालेका छन्। सेनाले विशेषगरी मतदान केन्द्रको बाहिरी घेरा, अति संवेदनशील क्षेत्र, र मतपत्र ढुवानी मार्गको सुरक्षा सुनिश्चित गर्ने भएकाे छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सबै तयारी पूरा भएको जानकारी दिँदै सेनाले आफ्नो म्यान्डेट अनुसार कार्य थालेको पुष्टि गरे। उनले भने, “निर्वाचनको ३० दिन अघिदेखि खटिने कार्यतालिका अनुसार आजदेखि टोलीहरू परिचालन भए। हामी एकीकृत सुरक्षा योजनाको पूर्ण पालना गर्दै उच्च सतर्कताका साथ खटिएका छौं।”
यसपटकको निर्वाचन सुरक्षा व्यवस्थामा नेपाली सेनाले तेस्रो घेराको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ। सेनाले मतपत्र र मतपेटिकाको छपाइदेखि ढुवानीसम्मको सम्पूर्ण जिम्मा लिएको छ भने दुर्गम र संवेदनशील क्षेत्रहरूमा हेलिकप्टरमार्फत हवाई निगरानी र सुरक्षा रेकी गर्ने कार्य समेत सुरु गरेको छ।
यसका साथै विमानस्थल, कारागार र महत्वपूर्ण सरकारी संरचनाहरूको सुरक्षामा पनि सेनालाई नै खटाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि नै सेना परिचालनको स्वीकृति दिइसकेका थिए, जसले गर्दा सेनाको यो सक्रियतासँगै देशभर चुनावी माहोल अझ बढी सुरक्षित हुने विश्वास लिइएको छ।




