सुनसरी, माघ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको निर्वाचन क्षेत्र सुनसरी–१ मा पर्ने सप्तकोशीस्थित खुवालुङको भ्रमण गरेका छन्।
बुधबार दिउँसो कोशीमा मोटरबोट चढेपछि उनले सामाजिक सञ्जालमार्फत किराँत सभ्यता र खुवालुङको ऐतिहासिक तथा आध्यात्मिक महत्त्वबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
सप्तकोशी क्षेत्रमा अवस्थित खुवालुङलाई किराँती तथा समग्र नेपालीका लागि एक पवित्र स्थल र मुन्धुममा “सभ्यताको द्वार” मानिने कुरा उनले उल्लेख गरे। मुन्धुम पाठ र जीवनचक्रका संस्कारहरूमा यसको अनिवार्य स्मरण गरिने हुनाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक भएको उनले स्पष्ट पारे। बालेनले खुवालुङले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति बीचको गहिरो सम्बन्धलाई झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्ने कुरामा जोड दिए।
उनले लेखेका छन्ः
खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा “सभ्यताको द्वार” मानिन्छ।मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो।यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।




