काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशको आर्थिक समृद्धिका लागि उद्योगहरूको विकास अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै प्रमुख शाहले उद्योगहरूलाई देशको ‘मेरुदण्ड’ को संज्ञा दिएका छन् ।
प्रमुख शाहले स्वदेशी उद्योगहरूको विकासले मात्रै देशमा रोजगारीको अवसर सिर्जना हुने र राष्ट्रिय आय बढाउन सहयोग पुग्ने उल्लेख गरे । उनले भनेका छन्, “उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना गर्छ, राष्ट्रिय आय बढाउन सहयोग पुर्याउँछ र अन्ततः देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।”
विशेष गरी सरकारी स्वामित्वमा रहेका तर उचित व्यवस्थापनको अभावमा थला परेका उद्योगहरूको सन्दर्भमा टिप्पणी गर्दै बालेनले उदयपुर सिमेन्ट जस्ता उद्योगलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताए।




