चितवन, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने चुनावी अभियानका लागि बिहीबार चितवन पुगेका छन्। उम्मेदवारी दर्तापछि उनी पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।
खुट्टामा लागेको चोटका कारण स्वास्थ्यमा समस्या रहे पनि लामिछानेले चुनावी अभियानलाई निरन्तरता दिएका छन्। हिँडडुल गर्न असहज भएपछि उहाँलाई पत्नी निकिता पौडेलले एम्बुलेन्समा राखेर विमानस्थलसम्म पुर्याएकी थिइन्। चिकित्सकहरूको सल्लाह र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उहाँ जहाजमार्फत चितवन प्रस्थान गरेका हुन्।
चिकित्सकहरूले चोटका कारण तत्कालै घरदैलो वा भिडभाडमा नजान र पूर्ण आराम गर्न सुझाव दिएका छन्। सोही कारण, लामिछानेले तत्काल ठूला सभा वा र्यालीमा सहभागी नभई आफ्नो निवासमै बसेर कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट र चुनावी रणनीतिका बारेमा छलफल गर्ने तयारी गरेका छन्।




