बैतडी, माघ २३ । बैतडीको पुर्चौडी नगरपालिकामा बिहीबार राति भएको विभत्स बस दुर्घटनाले सिंगो जिल्लालाई नै स्तब्ध बनाएको छ।
विवाह समारोहबाट हर्षोल्लासका साथ फर्किरहेका यात्रु सवार बस दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ। यस दुःखद घडीमा नगरपालिकाले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै शुक्रबार (आज) नगर शोक घोषणा गरेको छ।
बिहीबार राति करिब ८ बजे पर्चौडी नगरपालिका–७ मा दुर्घटना भएको हो। दुलही पुर्याएर फर्किँदै गरेको पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नं. काे बस बडगाउँ घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो।दुर्घटनामा १३ जनाको ज्यान गएको छ भने ३४ जना गम्भीर घाइते भएका छन्।
घटनास्थलमै मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थी रहेकाे बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले जानकारी दिए। एक जनाको सनाखत हुन बाँकी छ। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।
यस्तै, डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका –७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो। उक्त बसमा वरवधु सवार नरहेकाे बताइएकाे छ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थाहरू र जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। रातिको समय र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती आए पनि सुरक्षाकर्मी र स्थानीयवासीले सक्रिय रूपमा घाइतेलाई उपचारका लागि पुर्याउन सहयोग गरेका थिए।




