कास्की, माघ २३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा फसेको उल्लेख गर्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै थापाले उत्तेजना फैलाउने राजनीतिले निकास नदिने जिकिर गरे।
सम्बोधनका क्रममा थापाले वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै भने, “देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, तर निभाउनका लागि धैर्यता र क्षमता चाहिन्छ। उत्तेजना फैलाउन सजिलो छ, तर हामीलाई चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ।” उनले कांग्रेसले नै देशलाई यो संकटबाट निकास दिने दाबी गरे।
मुलुकमा व्याप्त निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क थियो। नागरिकहरूले भ्रष्टाचारलाई नै देशको सबैभन्दा ठूलो शत्रु मानिरहेको भन्दै उनले अबको कांग्रेस भ्रष्टाचार विरुद्धको योद्धा बनेर उभिने उद्घोष गरे। “नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि हामी नै बाहिर निकाल्छौँ। कांग्रेसको प्रत्येक नेताले अब भ्रष्टाचार विरुद्ध संकल्प गर्नुपर्छ।”
नागरिकमा राज्यका प्रमुख अंगहरूप्रति गहिरो असन्तुष्टि रहेको उनले स्वीकार गरे। संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति जनताको विश्वास डगमगाएको भन्दै उनले यो अविश्वासलाई चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
सभापति थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई घरदैलोमा जाँदा “कांग्रेसले देश सम्हाल्छ र सुधार्छ” भन्ने बलियो आत्मविश्वास र सन्देश लिएर जान निर्देशन समेत दिएका छन्।




