कास्की, माघ २३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अब अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् ।
कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा होमिनुपर्ने र बहुमत ल्याउनुपर्नेमा जोड दिएका छन्। मुलुकको विकासका लागि अब कांग्रेसले कसैसँग मिलेर होइन, आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने थापाको दाबी छ।
“अबकी बार कांग्रेसको सरकार” भन्ने पुरानो नारा छोडेर अब “अबकी बार सय पार” (प्रतिनिधिसभामा १०० सिट कटाउने) भन्ने नाराका साथ जनतामा जान उनले कार्यकर्तालाई निर्देशन दिए। कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गरेर बहुमत ल्याउन सम्भव रहेको भन्दै उनले कार्यकर्तालाई उत्साहित बनाए।
गगन थापाले सम्बोधनको अन्त्यमा कार्यकर्ताहरूलाई बदलिएको कांग्रेसको नयाँ संकल्पका साथ जनतामाझ जान आग्रह गरेका छन्। कांग्रेसले आफ्नो वास्तविक शक्ति चिन्नुपर्ने र “हामी देश सम्हाल्न र व्यवस्था सुधार्न सक्षम छौँ” भन्ने आँट राख्नुपर्ने तथा पार्टी अब पुरानै ढर्रामा नभई बदलिएर आएको र यसरी बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने उनको दाबी छ।
सबै नेता-कार्यकर्तालाई गाउँ र टोलसम्म पुगेर जनताको विश्वास जित्न उनले निर्देशन दिएका छन्।




