काठमाडौं, माघ २५ । भारत र श्रीलंकामा शनिबारदेखि सुरु भएको आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डको सामना गर्दैछ।
भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। टी-२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इंग्ल्याण्डबीच याे पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। आइसिसी टी-२० वरियतामा इंग्ल्याण्ड तेस्रो स्थानमा छ भने नेपाल १६औँ स्थानमा रहेको छ।
समूह ‘सी’: नेपाल रहेको समूह ‘सी’ मा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहेका छन्।
नेपाल यसअघिका दुई विश्वकप (सन् २०१४ र सन् २०२४ को अमेरिका/वेस्ट इन्डिज संस्करण) मा समूह चरणबाटै बाहिरिएको थियो। विश्व क्रिकेटको पावरहाउस इंग्ल्याण्डविरुद्धको आजको खेललाई नेपालका लागि एक ठूलो अवसर र चुनौतीको रूपमा हेरिएको छ।
विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् ।




