काठमाडौं, माघ २५ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी सम्बद्ध नेता–कार्यकर्तालाई परिचालन गर्न ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने भएको छ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले यस्तो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णय ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नम्बर २१ मा उल्लेख गरिएको छ। निर्णयअनुसार ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिअनुसार पार्टीका सबै नेता–कार्यकर्ता चुनावी मैदानमा खटिनेछन्।
यस क्रममा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्र तहले निश्चित जिम्मेवारीसहित तोकिएका स्थानमा खटिएका प्रतिनिधिहरूले काम सकेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित हुनुपर्ने निर्णयमा उल्लेख छ। तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अन्य सबै तहका पार्टी पदाधिकारी र सदस्यहरूलाई आ–आफ्नो क्षेत्र, पालिका र वडामै केन्द्रित रहन निर्देशन दिइएको छ।
त्यस्तै, एउटा वडाका क्रियाशील सदस्य अर्को वडामा नगई ‘हाम्रो वडा, हामी जिताउँछौँ’ भन्ने उद्घोषका साथ आफ्नै वडामा सक्रिय हुन कांग्रेसले आह्वान गरेको छ। कांग्रेसले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरूलाई पनि सोहीअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।




