काठमाडौं, माघ २८ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचनका लागि पार्टीले परम्परागत घोषणापत्रको सट्टा ‘प्रतिज्ञा पत्र’ ल्याउने घोषणा गरेका छन्।
सिराहाको गोलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फागुन २१ को निर्वाचनपछि चैतमा सरकार गठन हुने र वैशाख १ गते प्रधानमन्त्रीले पाँच वर्षभित्र गर्ने कामको प्रतिबद्धतासहितको प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्ययोजना सुनाए।
‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ ।’
अब भाषण मात्र नभई काम गरेर देखाइने दाबी गर्दै थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने र त्यसमा नागरिकलाई समेत सहभागी गराउने नयाँ प्रणाली लागू गरिने उनले बताए। उनले उखान-टुक्का र भत्काउने कुराले मात्र नभई उत्साह, अनुभव र सबैलाई मिलाएर लैजाने क्षमताले मात्र देश बन्ने उल्लेख गर्दै कांग्रेसका उम्मेदवारले गरेका वाचाको जिम्मेवारी आफूले लिने र युवालाई स्वदेशमै भरोसा दिलाउन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।




