धनगढी, माघ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी धनगढीबाट चुनावी अभियान सुरु गर्ने भएको छ। रास्वपाले धनगढीमा जनप्रदर्शनसहितको विशाल चुनावी सभा आयोजना गर्न लागेको हो।
सहप्रवक्ता प्रतिभा रावलका अनुसार फागुन ६ गते कैलालीको धनगढीस्थित पशुपति टोल (महोत्सव स्थल) मा आयोजना हुने उक्त सभामा सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यसूची छ।
रास्वपाले देशका प्रमुख सात स्थानमा ठूला चुनावी सभा गर्ने तयारी गरेको छ, जसको सुरुवात सुदूरपश्चिमको धनगढीबाट हुन लागेको हो। ‘जनसम्बोधनको यो अभियानले निर्वाचनको माहोललाई थप उर्जा दिने हाम्रो विश्वास छ,’ सहप्रवक्ता रावलले जानकारी दिइन्।




