काठमाडौं, फागुन १ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्कने क्रममा हुनसक्ने सम्भावित भिडभाड र प्रदर्शनलाई दृष्टिगत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था उच्च पारिएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी विमानस्थल वरपरका क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। निर्वाचन आचारसंहिता समेत प्रभावकारी रहेको अवस्थामा राप्रपा र व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले राजालाई भव्य स्वागत गर्ने तयारी गरेपछि प्रशासनले अनसन, धर्ना र जुलुस जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको हो।
हाल विमानस्थलको गोल्डेन गेट र टर्मिनल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने यात्रु र उनीहरूका परिवारको कडा जाँचबुझ गरिँदैछ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) क्षेत्रमा राजावादी समर्थकहरूको ठूलो उपस्थिति रहेको छ। राप्रपा, दुर्गा प्रसाईँ नेतृत्वको समूह र विभिन्न राजावादी पक्षधर संघ-संस्थाहरूले उहाँको भव्य स्वागत गर्ने तयारी गरेका छन्।
यद्यपि, प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गर्दै ५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विमानस्थल वरपरको क्षेत्रलाई कडा निगरानीमा राखेको छ।




